– केशव भट्टराई
खैरहनी । पूर्वीचितवनको खैरहनी–९ बैरहनीका सुरेन्द्रकुमार चौधरी ५४ वर्षका भए । कृषि विकास बैंक कलैया बाराका कामु शाखा प्रबन्धक चौधरी सरल, इमान्दार र कर्तव्यनिष्ट कर्मचारी मानिन्छन् ।
०७३ भदौमा चितवनबाट उनी कामु शाखा प्रबन्धक भएर कलैया गएका थिए । त्यसबेला कर्मचारी विवाद, चरम् राजनीति र तराई आन्दोलनका कारण लथालिङ्ग बनेको कार्यालय सम्हाल्नु चुनौतीको विषय थियो । तर, अनुभवी चौधरीले अथक प्रयासबाट कर्मचारीको कुशल व्यवस्थापन गरे । क्षेत्रीय कार्यालय वीरगन्जको सहयोग लिएर बैंकको भौतिक पूर्वाधारदेखि सीसीटिभी जडान र अनलाइन बैंकिङको व्यवस्था गरे । अहिले कृषि विकासका २५७ बैंकिङ कार्यालयमध्ये २०० शाखामा अनलाइन प्रविधिमार्फत् काम हुन्छ भने नारायणी अञ्चलमा तीन कार्यालयबाहेक सबैमा यो प्रविधि लागू भएको छ ।
‘अस्तव्यस्त अवस्थामा पुगेको कार्यालय बन्द हुने अवस्थामा पुगिसकेको थियो, हामीले दैनिक १२ घण्टा खटिएर घाटामा रहेको शाखालाई आठ करोड दुई लाख रुपैयाँ नाफामा ल्याउने काम ग¥यौँ’, उनी भन्छन् । ऋण असुली, व्याज असुली र अवलेखनमा पनि नसोचेको फस्र्योट भएको छ । अहिले उनको शाखा नारायणी अञ्चलमै नम्बर एक भएको छ ।
एउटा कार्यालय प्रमुख इमान्दार र लगनशील हुने हो भने सफलता हात लाग्दोरहेछ भन्ने उदाहरण उनले पेस गरेका छन् । जागिरे जीवन सुरू गर्दा १२ सय ५० रुपैयाँमा काम गरेका चौधरीको अब करिब २० महिनामात्रै सेवा अवधि बाँकी छ । जागिरको उत्तराद्र्धमा नयाँ प्रविधिसँग संघर्ष गरेर उनले बैंकिङ क्षेत्रमा सफल प्रबन्धकको छवि निर्माण गरेका छन् ।
कतिपय बैंकका प्रबन्धकहरु आर्थिक अनियमितताका कारण जेल जीवन भोग्नुपर्ने र कतिपयले जागिरे जीवनको अन्त्यमा कलंकको भारी बोकेर अवकाश लिनुपर्ने अवस्थामा चौधरीको सरकारी सेवा सबैका लागि उत्तिकै अनुकरणीय बन्न सक्छ । उनी कृषि विकास बैंकका सीईओ श्रीकृष्ण उपाध्यायबाट प्रभावित छन् । सिंचाई, ग्रामीण विद्युतीकरण, बैमौसमी तरकारी खेतीलगायत ‘सहरको पैसा गाउँमा लगानी’ गर्ने दूरदर्शी कृषि विशेषज्ञ उपाध्यायको प्रेरणाले आफूमा ऊर्जा थपिएको उनी बताउँछन् ।
०४५ साल चैत २ देखि मेकानिकल इन्जिनियरका रुपमा कृषि विकास बैंक पोखराबाट सेवा सुरू गरेका चौधरीले २९ वर्षे जागिरे जीवनका उतारचढावमा कहिल्यै कसैसँग सम्झौता नगरेको बताउँछन् । उनी जागिरकै दौरानमा आफ्नो जिम्मेवारी पूरा गर्न ०४६ सालदेखि काठमाडौँ, विराटनगर, वीरगन्ज, खैरहनी हुँदै ०६२ वैशाखमा इलामसम्म पुगे । जतिबेला उनी कामु प्रबन्धकका रुपमा इलाममा कार्यरत थिए, त्यसैबेला खैरहनी–९, बैरहनीस्थित निवासमा डाँकाले डकैती ग¥यो । त्यसबेला मानवीय क्षति नभए पनि ५÷६ लाख बराबरको नगद तथा गरगहना लुटपाट भयो । त्यस घटना उनको जीवनकै संकटको समय थियो । परिवार छोडेर एकल जागिरे जीवन बिताउनुको पीडा थियो ।
जतिसुकै तनाव भए पनि उनी प्रभावित भएनन् र आफ्नो पेसागत इमान्दारिता कायम राखिरहे । त्यसपछि उनी ०६३ मा खैरहनी र नारायणगढ बैंकिङ कार्यालयमा काम गरे । उनको कामप्रतिको बफादारिता र तत्परता देखेर उनलाई गत वर्ष कलैया पठाइएको थियो । आफ्नो काम र जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा उनी सन्तुष्ट छन् ।
परिवारको सफलताका पछाडि एउटी महिलाको हात रहेको हुन्छ भन्ने दृष्टान्त पनि उनको हकमा लागू भएको छ । किनभने, उनले पेसागत सफलता हासिल गर्दै गर्दा गृहस्थी जीवन अंगालेर तीन सन्तानको पालनपोषण र शिक्षादीक्षामा उनकी श्रीमती चन्द्राको ठूलो देन छ । दर्जनौँ सामाजिक संघसंस्थामा आवद्ध रहेर उनले आफ्नो अभिभारा कुशलतापूर्वक सम्पन्न गरेकी छन् । उनका छोराले एमबीबीएस उत्तीर्ण गरिसकेका छन् भने दुई छोरीले मास्टर डिग्री हासिल गरिसकेका छन् । कान्छी छोरीले प्राध्यापनसमेत गर्छिन् ।
जागिरप्रतिको लगाव र सन्तुष्टिका पछाडि महिलाको ठूलो हात रहने चौधरी बताउँछन् । भन्छन्, ‘कर्मचारीले परिवारको साथ र सहयोगबाटै सफलता हासिल गरेको हुन्छ । पारिवारिक बेमेल छ भने हरेक क्षेत्रमा काम बिग्रिन्छ । मेरो परिवारकै सफलताका पछाडि श्रीमती चन्द्राको भूमिका ठूलो छ । उनले घरको आन्तरिक रेखदेख नगरिदिएको भए आज सुविधासम्पन्न जीवनशैली सम्भव नै थिएन ।’
आर्जित र ऋण सापटीबाट घरैमा सुरू गरेको उनको कुटानी पिसानी सेलर मिलबाट राम्रै आम्दानी छ । जसबाट चारजनाले रोजगारीसमेत पाएका छन् । भन्छन्, ‘मिहिनतका साथ काम गर्ने हो भने कुनै पनि कर्मचारीले भ्रष्टाचार गर्नुपर्दैन । अनावश्यक लोभ गर्नुपर्दैन । लगनशीलताअनुसार काम गर्नुपर्छ, भगवान्ले सबैलाई केही न केही दिएकै हुन्छन् ।’